नेतृत्वका सम्बन्धमा गोपाल गांधीका अत्कृष्ट विचार

जब कुनै युवराज आफ्नो राजमहल त्यागेर उपदेशक बन्छ, जब कुनै धर्मगुरुले आफ्नो उच्चासन छाडेर निर्वासनमा जानुपर्छ, जब कुनै जन्मजात अगुवा आफ्ना जनतालाई नेतृत्व गर्नबाट प्रारब्धदेखि बञ्चित हुन्छ, त्यस्तो बेलामा हामी आरोह होइन, एक प्रकारको अवरोह भएको देख्छौं अर्थात् अचानक उत्पन्न भएको प्रतिकूलता देख्छौं । तर त्यही प्रतिकूलतामा वा अवरोहमा एउटा यस्तो उभार पनि देख्छौं, जसले एक ‘अदना’ व्यक्तिलाई नेतामा परिणत गरिदिन्छ ।

Image 

–गोपाल गांधी–

 

राजनीतिक परिवारमा जन्मदैमा कसैलाई राजनीतिमा प्रवेश गर्ने अधिकार हुँदैन । तर दक्षिण एसियामा यस्तै परम्परा चलेको छ । यो परम्परा त्यति पुरानो त होइन, तैपनि यो स्थापित भइसकेको छ । अनि यो परम्परा राजनीतिमा मात्र होइन, अन्य क्षेत्रमा पनि स्थापित भइसकेको छ । यसलाई ‘जन्मका आधारमा माथि उक्लने’ परम्परा पनि भन्न सकिन्छ ।

अ’सेन्ट बाई डि’सेन्ट । अंग्रेजीमा अ’सेन्ट भनेको उक्लनु या चढ्नु हो र डि’सेन्ट भनेको ओर्लनु हो । के उसोभए तेन्जिङ शेर्पाले सगरमाथाबाट ओर्लेर त्यसमा चढेका हुन् त ? यहाँ डि’सेन्ट भन्नुको तात्पर्य वंश परम्परा हो । पर्वत चढ्ने परम्परा र सीप तेन्जिङको रगतमै थियो, उनको डीएनएमै थियो । उनको वंश परम्पराले ठूलो भूमिका खेलेको पक्कै थियो । त्यसैले उनलाई उचाल्यो, ठेल्यो र टुप्पामा नपुगेसम्म घचेटिरह्यो । उनी भिडे र लागिपरे । उनले आफ्ना हाड, छाला र मांसपेशीका एक-एक तन्तु त्यसमा घोटे । आफ्नो मन-मस्तिष्क र शरीरलाई त्यसमा लगाए । उनलाई कसैबाट कुनै लाभ मिलेको थिएन । बरु त्यसको विपरीत तेञ्जिङको कथा एक व्यक्तिले प्रत्येक पाइलाका लागि सङ्घर्ष गर्नुपरेको कथा हो । त्यो एक व्यक्तिको अथक परिश्रमको कथा हो । त्यो उनी आफैंले प्राप्त गरेको सफलता हो । तेञ्जिङ वास्तवमै नेतृत्वका प्रतिमूर्ति थिए । नेतृत्व दिनु भनेको के हो, त्यो उनको जीवनले बताउँछ । जवाहरलाल नेहरूले भनेका थिए, ‘भाग्य भन्ने कुरा हुन्छ, त्यसलाई आफैंले खेलाउन सक्नुपर्छ । त्यसलाई कसरी खेलाउनुहुन्छ, त्यसैमा सफलता निहित हुन्छ ।’

बृहत्तर परिवार

अब म दक्षिण एसियामा स्थापित नेतृत्वसम्बन्धी  केही तथ्य र पक्षबारे चर्चा गर्न चाहन्छु । हामी दक्षिण एसियालीहरूले जुन नेता पाएका थियौं, त्यसका लागि आफैंलाई स्याबासी दिन सक्छौं । ती नेता संसारकै उत्कृष्ट र महान नेताहरू मध्येका थिए । हामी जब ‘नेता’ भन्ने शब्द प्रयोग गछौर्ं, त्यसबेला राजनीतिभन्दा धेरै पर तथा माथिल्लो तहका कुरा गरिरहेका छौं भन्ने बुझ्नुपर्छ । त्यसबेला हामी यस्तो व्यक्तिका बारे कुरा गरिरहेका हुन्छौं, जो बाटो नभएको ठाउँमा बाटो बनाउँछ, यस्तो बाटो जो केवल बाटो नभएर आफैंमा एउटा विश्व पनि हो । यस्तो बाटो जो नवीन चेतना, नवीन समझदारी र नवीन आस्था हो, जसले हाम्रा भित्री र बाहिरी दुवै संसारलाई राम्रो बनाउन सकिन्छ ।

गौतम बुद्धको एउटा कथा छ । उनी सिद्धी प्राप्त गरेपछि आफ्ना अनुयायीहरूका लस्करसहित पहिलोपटक कपिलवस्तु आउँदा यशोधरा र बालक राहुलले उनलाई राजप्रासादको बार्दलीबाट हेरिरहेका थिए । ‘तिनमा कुनचाहिँ मेरा पिता हुन् ?’ राहुलले आफ्नी आमालाई सोधे । जवाफमा युवराज्ञीले ‘बायाँतिरबाट पहिलो’ वा ‘कपाल चुल्ठो पारेका’ जस्ता सामान्य विवरण दिइनन् । उडिरहेको धुलोको बादलमाझ निहार्दै भनिन्, ‘पुत्र, जो सिंहझैँ हिँडिरहेका छन्, तिनै तिम्रा पिता हुन् ।’  बुद्धजस्ता नेता संसारले कहिल्यै पाएको थिएन र कहिल्यै पाउने पनि छैन र उनी यसै भूमिमा जन्मेका थिए । मनै बदलिदिने दृष्टि, दुःखका कारणहरूको समिचीन व्याख्या र दुःखलाई निराकरण गर्ने उपायहरूद्वारा उनी आज पनि अगुवाइ गरिरहेका छन् । नोबेल पुरस्कारद्वारा सम्मानित दुई जीवित आत्माहरू बुद्धबाटै आफ्ना आन्तरिक शक्ति तथा ऊर्जा प्राप्त गर्छन् र ती दुवै दक्षिण एसियाली हुन् । ती हुन्, दलाई लामा र आङसान सुकी । यी दुवैमा सिंह वा सिंहिनीका गुणहरू छन् ।

जब कुनै युवराज आफ्नो राजमहल त्यागेर उपदेशक बन्छ, जब कुनै धर्मगुरुले आफ्नो उच्चासन छाडेर निर्वासनमा जानुपर्छ, जब कुनै जन्मजात अगुवा आफ्ना जनतालाई नेतृत्व गर्नबाट प्रारब्धदेखि वञ्चित हुन्छ, त्यस्तो बेलामा हामी आरोह होइन, एक प्रकारको अवरोह भएको देख्छौं अर्थात् अचानक उत्पन्न भएको प्रतिकूलता देख्छौं । तर त्यही प्रतिकूलतामा वा अवरोहमा एउटा यस्तो उभार पनि देख्छौं, जसले एक ‘अदना’ व्यक्तिलाई नेतामा परिणत गरिदिन्छ ।

मैले यस्तै केही कुरा दक्षिण अफ्रिकाको पिटरमारिट्जबर्गमा बोलेको थिएँ र आज पनि म त्यही कुरा यहाँ दोहोर्‍याउँछु । आजभन्दा १२० वर्षअघि पिटरमारिट्जबर्गमा एकजना भारतीयलाई रेलबाट घोक्र्याइयो । त्यहाँ दक्षिण अफ्रिका पुगेको दक्षिण एसियाको एक भारतीय गिर्‍यो । तर को उठ्यो ?  त्यस गिराइबाट को माथि चढ्यो ? आफ्ना विवेकलाई प्रयोग गर्दै अद्भुत सङ्कल्पका साथ एक राजनेता उठ्यो । गान्धी लडे रेलको टिकट लिएर जसलाई कसैले वास्ता गरेन, तर उनी उठे यस्तो आवाज लिएर जसलाई कसैले बेवास्ता गर्नै सकेन । रेलयात्रीका रूपमा उनी लडे । देशभक्त भएर उठेर लड्दा उनी वकिल थिए । तर उठ्दा उनी क्रान्तिकारी भएर  उठे । उनले लड्ने कानुनी मुद्दा उनको राजनीतिक अभीष्ट बन्यो, उनको मानवीय सदाचार, मानवीय गरिमा र मानवीय न्यायप्रतिको आशक्तिमा रूपान्तरित भयो । त्यसक्षण व्यक्तिको ठाउँ एक नेताले लियो, जसले प्रस्तुत गरेको उदाहरणले उपनिवेशवाद र साम्राज्यवादको साङ्ला तथा हामीकहाँ विद्यमान शोषणको दाम्लालाई चुँडालेर दक्षिण अफ्रिकामा मात्र होइन, पूरै अपिकामा परिवर्तन ल्यायो । दक्षिण एसियामा मात्र होइन, पूरै एसियामा परिवर्तन ल्यायो ।

अ’सेन्ट बाई डि’सेन्ट को अर्थ सार्वजनिक भूमिकामा मास्तिर उक्लने मात्र होइन, पारिवारिक सम्बन्ध र वंशानुगत भूमिकाबाट विलकुलै फरक व्यवहार गर्नु पनि हो । दक्षिण एसियामा राजनीतिक क्षेत्रमा बाहेक अन्य क्षेत्रमा पनि पारिवारिक कारणबाट जन्मेका नेताहरू छन् । तर दक्षिण एसियाले नै संसारलाई नयाँ जागृतिको अर्थमा साँचो नेतृत्व अन्य खालका ‘तल झराइ’बाट आउन सक्छ भन्ने देखाएको छ । अर्को शब्दमा भन्ने हो भने यो तत्कालको र प्रणालीगत प्रतिकूलताबाट आउँछ । त्यो चुनौती हो, अनुकूलता होइन, त्यो हन्डर हो, सहुलियत होइन ।

‘परिवार’ शब्दको अर्थ पनि लचिलो छ । मानिसको परिवार हुन्छ, जसमा ऊ जन्मेको हुन्छ, जसलाई खानदान वा कुल भनिन्छ । त्यसपछि उसको अर्को ठूलो परिवार जात बिरादरीको हुन्छ, जसको ऊ सदस्य हुन्छ, त्यसपछि त्यस्ता समुदायहरूको सङ्घ हुन्छ आदि-आदि । तसर्थ ‘वंशानुगत’ भन्ने शब्दले एउटा लचिलो अर्थ बोकेको छ । त्यसको बृहत्तर अर्थमा दक्षिण एसियाले उदेकलाग्दा सामुदायिक नेताहरू जन्माएको छ । दुई पुरुषको नाम तत्काल मेरो मगजमा आउँछ । उनीहरूले आफ्ना कुल परिवार र समुदायले भोग्नु परिरहेका अप्ठ्याराहरूलाई गहिरोसित बुझेका थिए । उनीहरूका तर्फबाट हामी संसारलाई भन्न सक्छौं, ‘हामीसित शक्ति छैन, हामी धनी छैनौं, तर हामीलाई बेवास्ता नगर । हाम्रो सामथ्र्य र आफ्नो आवाज सुनाउने हाम्रो सङ्कल्पलाई चानचुने नठान ।’ म खान अब्दुल गफ्फार खाँको उल्लेख गर्छु, जो ‘बादशाह’ कहलिए । पठानहरूका हितमा उनी बोल्थे । तर उनी पठानहरूका मात्र बादशाह थिएनन् । अनि भीमराव आम्बेदकर, जो ‘बाबासाहेब’ कहलिए, उनले प्रतिनिधित्व गर्ने दलितका लागिमात्र होइन, सम्पूर्ण भारतकै लागि उनी बाबासाहेब थिए । यी दुवैले आफ्ना खास गुणका आधारमा बृहत्तर दृष्टिकोण र फराकिलो मार्ग निर्माण गरे ।

वंशानुक्रम भनेको सानो वा ठूलो जुनसुकै परिवार वा वंशभित्र हुने जन्मको संयोग हो । वंशानुक्रमले दक्षिण एसियामा नेतृत्वको निर्माणमा निकै ठूलो भूमिका खेल्छ । यसको भूमिका निकै गम्भीर पनि छ । सायद संसारका अन्य भागमा यसको यति ठूलो भूमिका नहोला । दक्षिण एसिया जिउनका लागि र राम्रोसित जिउनका लागि तथा गरिमा र न्यायका लागि लड्नु र भिड्नुपर्ने मैदान हो । हामी हरेक कुनै न कुनै राजनीतिक परिवारमा, कुनै न कुनै  राजनीतिक परिस्थितिमा र कुनै न कुनै  राजनीतिक सन्दर्भमा जन्मिएका हुन्छौं । हामी राजनीतिकर्मी हौं या नहोऔं, हामी राजनीतिक इकाइ जरुर हौं । त्यस अर्थमा हामी सबै अभिलाषी नेता, असफल नेता, निराश नेता, सन्तुष्ट नेता, क्रुद्ध नेता, नक्कली नेता, सक्कली नेता, महान र आदर्श नेता हौं र हुनसक्छौं । अथवा हामी यस्ता कुनै पनि खालका नेता नभए पनि हामी हामीले नेतृत्व दिने वा नेतृत्व दिएको दाबी गर्नेलाई पछ्याउन सक्छौं, तिनको समर्थन र विरोध गर्न  सक्छौं । तिनलाई अधिकारसम्पन्न र अधिकारविहीन पनि बनाउन सक्छौं । अनि नेपालले नेतृत्वविहीन हुँदाहुँदै पनि कसरी ‘सामान्य जन’को प्रबल शक्तिले सत्तामा रहेकालाई हटाउन र शासन सत्ताको प्रकृतिलाई नै बदलिदिन सक्छ भन्ने देखाएको छ । राजतन्त्रलाई गणतन्त्रमा फेरिदिएको छ । दक्षिण एसियामा अन्यत्र यस्तो उदाहरण देखिएको छैन ।   

कसमाथि आशा गर्ने ?

दक्षिण एसियामा अहिलेको नेतृत्व कस्तो छ त ? अनि यसको भविष्य कस्तो छ ? दक्षिण एसियाको लोकतान्त्रिक प्रक्रियाले जनताका आक्रोश र पीडालाई आआफ्नै तरिकाले सुल्झाउन खोजिरहेको छ । तर सुल्झिनसकेको छैन । परिणामस्वरूप सडक, टुँडिखेल र खुला मैदानको राजनीति बढिरहेको छ । यस्तो राजनीतिबाट हामी अनभिज्ञ छैनौं । यसलाई अलोकतान्त्रिक पनि भन्न मिल्दैन, किनभने यो वस्तुतः अहिंसात्मक हुन्छ । तर यो दबाबमूलक हुन्छ र लोकतान्त्रिक उपचारको परम्परागत प्रक्रियाको उद्देश्यसित बाझनिे खालको छ ।

लोकतान्त्रिक कार्यपद्धति ढिलो र अपर्याप्त हुनााले त्यसको गम्भीर परिणामस्वरूप सङ्गठित सशस्त्र हिंसा बढ्न थालेको छ । कुनै पनि हिंसात्मक आन्दोलन एक पटकमै सिद्धिने खालको हुँदैन । यो सिकार खेल्नु जस्तै हो, एउटालाई मारेर सिकार खतम हुँदैन । बन्दुकको गोलीमा त्यसलाई हान्ने र त्यो गोली लाग्नेको नाम लेखिएको हुँदैन । हिंसाले हिंसालाई जन्माउँछ । यो कुनै पन्थको औजारका रूपमा हुर्कन्छ र आत्मतुष्टि नै यसको एकमात्र उद्देश्य हुने गर्छ । हिंसाले दक्षिण एसियाको नेतृत्वको हिस्सा बन्ने प्रयास नगरेको होइन । यसो हुनु नेतृत्व अराजकताबाट प्रतिस्थापित हुनु हो । 

त्यसो हुनाले दक्षिण एसियाको राजनीतिक नेतृत्व कठिन अवस्थामा छ । यसको प्रतिष्ठा धरापमा छ । पैसाको पकड बढेको र यसले राजनीति र नेतालाई खेलाउने हुनाले त्यसबाट व्यापक विस्मय, निराशा र हताशा छाएको छ । त्यसले आक्रोश जन्माएको छ । अहिले जनता निकै सुसूचित र विवेचनात्मक दृष्टि राख्ने भएकाले  राजनीतिमा लाग्ने केही व्यक्ति र राजनीतिक सङ्गठनहरू अझै पनि अपवादका रूपमा रहेका छन् भन्ने जनताले बुझेका छन् । तर आमरूपमा राजनीतिक नेतृत्वको प्रतिष्ठा प्रशंसायोग्य छैन ।

नेतृत्वको अर्थ अचेल हाम्रो भाषा र बोलीचालीमा विभिन्न किसिमले बुझिन्छ । हिन्दीमा हामी ‘नेतृत्व’ भन्छौं भने उर्दूमा यसलाई ‘रहनुमाई’ भनिन्छ र बोलीचालीमा त्यसैलाई ‘लिडरबाजी’ र ‘नेतागिरी’ पनि भन्ने गरिन्छ । नेतृत्वका महान र आदर्श उदाहरणहरू दक्षिण एसियामा पाइन्छन् । तर नेतागिरीलाई बजारमा बिक्ने वस्तुका रूपमा हेरिन्छ । यो बजारमा पाइने यस्तो वस्तु भएको छ, जसको खोलमा उत्पादकको ठेगाना छापिएको हुन्छ र बिक्री मूल्य पनि त्यसमा उल्लेख गरिएको हुन्छ, तर त्यो मूल्य बराबर फेरिने गर्छ । वस्तुका मिश्रणहरूबारे भने त्यसमा उल्लेख हुँदैन र त्यसको गुजि्रने म्याद पनि लेखिएको हुँदैन । अनि नेतागिरीलाई जनताको सेवामा नभई आफ्नै निजी फाइदाका लागि गरिने क्रियाकलापका रूपमा हेरिन्छ । यसलाई चाहिँ दुर्भाग्यपूर्ण मान्नुपर्छ र यसबाट धेरैलाई अन्याय हुनगएको छ । स्वार्थरहित, इमानदार र आफ्ना दोषलाई देख्ने खालका  राजनीतिज्ञहरूको हकमा अन्याय भएको छ । नेतृत्व घट्दै गएको छ, नेतागिरी बढिरहेको छ । भारतका दोस्रा राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले भनेका थिए, ‘दीर्घम् पश्यतु मा ह्रस्वम् -अगाडि हेर्नु, सङ्कुचित दृष्टि नराख्नु ।’ नेतृत्वले टाढाको कुरा हेर्छ, नेतागिरीले आफ्नै वरिपरि र नाकमुनि मात्रै हेर्छ, अनि कुनै क्षेत्रीय, साम्प्रदायिक र स्थानीय तहका भावावेशपूर्ण निहुँ पाइन्छ कि भनेर सुँघ्ने गर्छ । नेतृत्व तुच्छताभन्दा माथि हुन्छ, नेतागिरी तुच्छतापूर्ण हुन्छ । नेतृत्व छुद्रताभन्दा माथि हुन्छ, नेतागिरी छुद्रतामा रमाउँछ । नेतृत्वले विश्वसनीयतामा जोड दिन्छ र त्यो निष्कपट तथा सत्यनिष्ठ हुन्छ । नेतागिरी लोकपि्रयता खोज्छ, यो दुई जिब्र्रे र कपटी   हुन्छ । नेतृत्वका अनुयायीहरू हुन्छन्, नेतागिरीका अभिकर्ताहरू हुन्छन् । नेतृत्वले निजी द्वेष र प्रतिस्पर्धालाई उडाइदिन्छ, नेतागिरी त्यसैमा मौलाउँछ । नेतृत्व लम्केर हिँड्छ, नेतागिरी अड्केर हिँड्छ । नेतृत्व ट्राफिक बत्तीमा अडिन्छ, नेतागिरी नअडी अगाडि बढ्छ । नेतृत्व सिद्धान्तमा अडिग रहन्छ र झिनामसिना कुरालाई वास्ता गर्दैन, नेतागिरी सिद्धान्तप्रति सम्झौता गर्छ र आफूलाई फाइदा हुने झनिामसिना कुरा हेर्छ ।

अचेल राजनीतिक नेताहरूलाई आफ्नो ज्यान जाने डर हुन्छ र राज्यले सुरक्षा नदिएको अवस्थामा उनीहरू निजी सुरक्षागार्ड राख्छन् । निजी हातहतियार र अवैध हातहतियार बीचको फरक झनिो छ । अवैध हातहतियार र भुइँ तहको नेतृत्वबीच नजिकको सम्बन्ध रहेको हुन्छ । त्यसले गर्दा गैरराजनीतिक नेतृत्व सभ्य तथा आकर्षकसमेत देखिन थालेको छ । केरला तामिलनाडु सीमा क्षेत्रको एउटा सानो गाउँको स्कुलमा मैले ‘तिमीहरू के बन्न चाहन्छौ ?’ भनेर विद्यार्थीहरूलाई सोधेको थिएँ । जवाफमा उनीहरूले ‘मेसीजस्तै फुटबल खेलाडी’ र ‘सलिम अलीजस्तै पन्क्षी विशेषज्ञ’ भने । एकैजना विद्यार्थीले पनि भविष्यमा आफूले राजनीतिलाई पेसा बनाउने कुरा बताएनन्, नत कुनै राजनीतिक नेतालाई उदाहरणीय व्यक्तिका रूपमा उल्लेख गरे ।

राजनीतिक नेतृत्वको छवि जति तल गिर्छ, उति नै सामाजिक सक्रियतावादीहरू, राजनीतिमा नलागेर पनि राजनीतिक मुद्दाहरूलाई उठाउने गैसस आन्दोलनका अगुवाहरू, खेलकुद जगतका हिरोहरू, सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरू र सिनेकलाकारहरूको छवि चम्कन्छ । आज यी व्यक्तित्वहरूले हिजो राजनीतिक नेताहरूले ओगटेका ठाउँ लिइरहेका छन् । यसबाट राजनीति र राजनीतिक नेतृत्वउपर  अन्याय भएको मान्नुपर्छ । 

संवैधानिक निकायका अनिर्वाचित अधिकारीहरूले पनि राजनीति र राजनीतिज्ञभन्दा बढी सम्मान पाउने गरेका छन् । ‘मलाई न्यायपालिकाप्रति पूर्ण विश्वास छ’ भन्ने उक्ति बरोबर सुन्न पाइन्छ । तर ‘मलाई हाम्रा राजनीतिक नेताहरूप्रति पूर्ण विश्वास छ’ भनी कसैले भनेको सुन्न पाइँदैन । यस्तो हुनु दुर्भाग्यपूर्ण  हो । किनभने लोकतन्त्रमा राजनीतिक नेतृत्व नै सामाजिक न्याय र आर्थिक समृद्धि ल्याउने अग्रदूत हुने हुनाले यसको अतिशय महत्त्व छ । अरूले उत्प्रेरकको काम गर्न सक्छन्, प्रेरणा दिन सक्छन् । तर लोकतन्त्रमा अन्तिम परिणाम त वैधानिक लोकतान्त्रिक राजनीतिक निकायहरूबाटै प्राप्त हुने हो । जनताको अभिमत, सिकायत, चाहना आदि व्यक्त हुने भरपर्दो माध्यम विधायिका नै हुन्, तिनबाटै आवश्यकता अनुरूप मौजुदा कानुनमा परिवर्तन हुनसक्छ र समयसापेक्ष नयाँ कानुनहरूको तर्जुमा  हुनसक्छ । जनताका आँखाबाट त्यस्ता निकायहरूप्रतिको सम्मान गिर्न दिनु हुँदैन ।

हाल दक्षिण एसियाका राजनीतिक नेतृत्वका सामु रहेको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नो गुमेको विश्वसनीयतालाई फर्काउनु हो, नेतृत्वलाई नेतागिरीबाट मुक्त गर्नु हो । तर त्यसभन्दा पनि ठूलो खाँचो दक्षिण एसियाका लागि र वास्तवमा मानव समाजकै लागि यस्तो नेतालाई पुनः आविष्कृत गर्नु हो, जसले राजनीति वा राज्य सञ्चालन र शासन पद्धतिको नभई पृथ्वीको जीवन प्रणालीमा मानवीय अवस्था बारेको नेतृत्व दिन सकोस् । हामीलाई खाँचो छ, सामाजिक दार्शनिकहरूको, पर्यावरणीय दार्शनिकहरूको, विज्ञानका दार्शनिकहरूको, यस्ता विचारकहरूको जो आफैं पनि सक्रियतावादी हुन् वा जसले सक्रियता उत्पन्न गर्न सक्छन्- बटर््रान्ड रसेल, इ एफ सुमाकर, वाङ्गारू मथाई, चण्डीप्रसाद भट्ट, सुन्दरलाल बहुगुणाजस्ता व्यक्तिहरू । यस्ता धेरै दक्षिण एसियाली नेताहरू छन्, जसले अन्तर्राष्ट्रिय घटनाक्रमको धारलाई मोडेका छन्- उ थान्त, अमत्र्य सेन, महबुब उलहक, रहमान सोभान, मोहम्मद युनुस, ह्यामिल्टन सर्ले अमरसिङ्घे । त्यतिकै नेतृत्व क्षमता देखाउने भारतमा धेरै अग्रगन्य महिलाहरू पनि छन्- अरुणा रोय, मेधा पाटकर, अरुन्धती रोय, सीके जानु, वन्दना सिवा आदि । उनीहरूका विचारलाई जति सुन्नुपर्ने हो, त्यो अहिले सुनिएको छैन, तर भविष्यले उनीहरूलाई अग्रगामी नेताका रूपमा मान्नेछ । दिगो सहरी बसोबासबारे बाटो देखाउने पाकिस्तानका अगुवाहरू अख्तर हमिद खान र आरिफ हसन ।

हामीलाई राजप्रासाद र संसद भवन छाडेर बाहिर निस्कने यस्ता नेताहरू चाहिएको छ, जो बोल्छन्, लुटिएका वनजङ्गलका हकमा, क्षतविक्षत खानीहरूका हकमा, विलुप्त हुँदै गएका जलाशयका हकमा, प्रदूषति नदीनालाका हकमा, उपेक्षति स्मारकहरूका हकमा, नष्ट पारिएको हस्तकलाका परम्पराको हकमा, सङ्कटमा परेका प्राकृतिक आश्रति प्रणालीका हकमा र जसले बोल्न सकुन्, हाम्रा वन्यजन्तुहरूका हकमा, हाम्रा बुढ्यौली लागेका मानिसहरूका हकमा र विशेषगरी अकथनीय शोषणको मारमा परेका छोरीचेलीहरूका हकमा । यी कुनै पनि प्रतिनिधित्व क्षेत्रभित्र पर्दैनन्, तर यी कुरा यस पृथ्वीका अत्यन्त मूल्यवान वस्तु हुन् । दक्षिण एसियाका नेताहरूले यस्ता ध्येय लिएर बोल्नथाले भने उनीहरू सिंह भनेर चिनिनेछन्, स्याल भनेर होइन ।

मलाई विश्वास छ, यस क्षेत्र र विश्वका लागि नै अभूतपूर्व नेताहरू दिने दक्षिण एसियाले नेतृत्व पैदा गर्ने आफ्नो क्षमता प्रदर्शन गरेर अर्को पुस्तालाई चमत्कृत पार्नेछ, यस्तो नेतृत्व जो जनतालाई साथ लिएर राजनीतिभन्दा पर्तिर  पर्यावरणीय, समाजशास्त्रीय र सभ्यतायुक्त प्रज्ञाको नयाँ प्रणालीमा प्रवेश गर्न सक्छ ।

 

मैले आफ्नो प्रवचनको प्रारम्भमै आङसान सुकीको नाम लिएको थिएँ । म धैर्य र साहसकी तिनै विराङ्गनालाई सलाम गर्दै आफ्ना कुरा टुङग्याउन चाहन्छु । ती यस्ती विराङ्गना हुन्, जसको कुल उनका लागि गर्वको विषय थियो, छनोटको होइन, जसको उकालो यात्राको गति सुस्त, दिक्कलाग्दो र खतरायुक्त थियो, अनि उनको यात्रा शिखरमा पुग्न बाँकी नै छ । तर जसले दक्षिण एसियामा नेतृत्वको प्रदर्शन गरेकी छन् र जसले हामीलाई नेतृत्वको नयाँ परिभाषासाथै नयाँ आशा प्रदान गरेकी छन् ।

(‘एलाइन्स फर सोसल डायलग’ ले सन् २०१२ डिसेम्बर १८ मा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धीले गरेको भाषणको सम्पादित अंश ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

Advertisements
%d bloggers like this: