नेपाली राज्यको रूपान्तरण र स्थाइ सत्ता- रूद्र चुडाल/ A brain storming article from Rudra Chudal on ‘Permanent Power” of Nepali state.

नेपाली राज्यको रूपान्तरण र स्थाइ सत्ता

Image

-रूद्र चुडाल-

    पहिले मेरो सानो भन्नुः वि.स. २०६९ को गत असेज महिनामा मैले यही डिल्लीबजार जेलबाट साथीहरूका नाममा एक पत्र लेखेको थिए । पत्र लामै थियो । यसमा विविध बिषयको चर्चा गरेक थिए । नेपालमा राज्यको रूपान्तरण एवं पुनर्संरचनाका सन्दभर्मा मैले निकै पहिले देखि उल्लेख गर्दै गरेको हुं कि नेपालमा विद्यमान एकात्मवादी राज्यव्यवस्थाको प्रतिरक्षाका लागि निकै बलियो स्थार्इ सत्ता छ ।  यो भने एकै प्रकारका स्वार्थहरूको समिश्रित रूप हो । मैले मेरो पत्रमा त्यस स्थार्इ सत्ताको चर्चा गरेको थिए ।

त्यस पत्रमा मैले मेरो जेल यात्राको सन्दर्भमा भनेको थिएः नेपालको राज्यसत्ताले षडयन्त्रपूर्वक मलाई दण्डित गरेर हाल जेलमा राखेको छ । यो मेरो पहिलो जेलयात्रा होईन र यो अप्रत्याशित पनि थिएन । एक दमनकारी राज्यमा, जो राज्यको विरूद्ध उभिन्छ, राज्यपनि उसको विरूद्ध खनिनु अस्वभाविक होइन । जो राज्यको ढांचालाई तोड्न खोज्छ, उसलाई नेस्तानाबूद पार्न राज्यले पनि बांकी राख्दैन । निःसन्देह मसंग यस्तै भएको हो ।

प्रायसः हामी अलमलमा परी भन्ठान्दछौ कि, मंत्रीजस्ता केही मानिसहरूको झुण्ड नै राज्य हो । देख्दा यस्तै देखिन्छ, तर यो भने यथार्थ होइन । नेपालको सत्ताको सन्दर्भमा लगभग एउटै प्रकारका स्वार्थहरूको समिश्रति रूप वास्तविक सत्ता हो । यो नै नेपाली राज्य व्यवस्थाको ‘स्थार्इ सत्ता’ हो । पहिलो, मंत्री परिषद भनौं वा सरकार दोश्रो, एक निश्चित समुदायको वर्चस्व भएको विधायिका भनौं वा संसद तेस्रो, राज्यको विद्यमान स्वरूपको पृष्ठपोषणगर्ने राजनीतिक दलहरू चौथों, सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी तथा गुप्तचर जस्ता सुरक्षा निकाय पांचौं, एउटै खाले जातीय बाहुल्यताको निजामतीतन्त्र वा सामान्य प्रशासन छैठौं, एकात्मवादी राज्यव्यवस्थाको मात्र हितसंरक्षक न्यायप्रणाली भनौं वा अदालत सातौं, निजी व्यक्तिगत वा पारिवारिक स्वार्थमा चुर्लुम्म डुबेका परम्परागत चाटुकार पूंजिपतिवर्ग र आठौं, विद्यमान प्रभावशाली संचारगृह-प्रशारण, प्रकाशन सम्वद्ध जातीय प्रेस तथा  पत्रकारहरू । यथार्थमा यिनैको समान स्वार्थ नेपालको ‘स्थार्इ सत्ता‘ हो ।

आजको नेपालको मुख्य द्वन्दरत् पक्ष यिनै हुन् । स्थार्इ सत्ता भनिएका यी सबै एकपक्षको रूपमा र शताब्दीऔं देखि बहिष्करणमा पारिएका मधेसी समुदाय अर्कोपक्ष हुन् । आधारभूतरूपमा यी दुइपक्ष बीचको संर्घषनै वर्तमान राजनीतिको मुख्य विरोधाभाष र द्वन्द हो । यही दुर्इपक्षमा आजको सम्पूर्ण राजनीति ध्रुविकृत  छ । समान प्रकारको स्वार्थरहेका माथी उल्लेख गरिएको स्थाइ सत्ताका मानिसहरू चाहन्छन् कि, उनिहरूले खडागरेका राज्यव्यवस्था अक्षुण्ण रहनु पर्दछ । स्वार्थको साम्राज्य कायमै रहनु पर्दछ । हामी मधेसीहरू चाहन्छौं कि यो टुट्नु पर्दछ । राज्यको यस स्वरूपलाई तोडेर नयां रूपान्तरण गर्नु हाम्रो ध्येय हो ।  मैले यही नै गर्न चाहेको हुं, मैले राज्यको यही विद्यमान ढांचालाई तोड्ने संकल्प लिएको हुं । तसर्थ, राज्यले मलाई तोड्नकालागि जेल पठाएको हो । म उपर भएको अदालतको फैसला त यौटा षडयन्त्रात्मक राजनीतिक स्वांग बाहेक केही होइन । राज्यले खडा गरेको सिक्री मैले तोडन खोज, राज्यले मलाई सिक्रीमा बाध्यो । अदालतको नियत त न्यायदिनु हुदै होइन । मलाई अहिलेको राजनीतिक मूलधारबाट बाहिरराख्नु मात्र अदालतको नियत   हो । …………। 

यो पत्र सर्वत्र वितरण भयो । यसलार्इ धेरै पत्रपत्रिकाहरूले प्रकाशित पनि  गर्यो । फेसबूक लगायतका विद्युतीय माध्यमहरूमा यसको पोष्टिंग भयो । धेरैले   पढें । पक्ष विपक्षमा कुराहरू उठ्यो । जेलमा अनेकन् पत्रहरू प्राप्त भयो । यसै क्रममा संचारकर्मी श्री रूद्र चुडालले लेख्नु भएको एक पत्र पाएँ । बडो मिहनतका साथ लेखिएको तथ्यपरक एवं शोधयुक्त पत्र पाएँ । यसका केही सन्दर्भहरूमा मेरो भिन्न मत भएपनि यो पत्र अवश्यपनि सबैका लागि विचारणीय रहेको ठान्दछु । त्यसैले मेरो यो संक्षिप्त टिप्पणीका साथ से पत्र जस्ताको तस्तै यहाँ राखेको छु । यसका वारेमा स्वस्थ छलफल होस् भने अपेक्षा पनि राखेको छु । धन्यवाद ।

जय प्रकाश गुप्ता

डिल्लीबजार जेल

 

अब रूद्र चुडालको विचारः

श्री जय प्रकाश गुप्ता

नमस्कार,

तपाइको लामो लेख पढें | मेरा मनमा खुल्दुली थियो तपार्इलार्इ किन जेल हालियो भन्ने | तपाइको लेख पढेपछि मलार्इ सबैकुरा खुलस्त भयो | तपाइको लेख पढेपछि मलाइ स्थाई सत्ताको बारेमा जानकारी भयो | म यसलाई के नाम दिने भनेर अलमलमा थिएँ | खसवाद, पहाडिया राष्ट्रवाद  वा गोर्खाली राष्ट्रवाद जे भने पनि भयो र त्यसले बनाएको सत्ता तपाईंले परिभाषित गरेको स्थाई सत्ता हो | मेरो विचार तपार्इ समक्ष राखेर आफुलाई हलुका बनाउने कोसिस गर्छु | कुरा  के भने १२ बुंदे सम्झौता जुन दिल्लीमा भयो त्यो स्थाई सत्तामा परिवर्तन नल्याउने रणनीतिका साथ गरिएको थियो | सद्भावना पार्टीलाई समेत १२ बुँदेमा सहि गराएपछि दोस्रो श्क्ति नेपालमा निस्कन्छ भन्ने दिल्लीका नेपाल रणनीतिकारहरुले अनुमाननै गरेका थिएनन् | तर तापाईले लामो समयदेखि मधेश जागरणमा खेलेको भूमिकाको कारण  स्थाई सत्ताको बिरुद्धमा मधेशीश्क्तिको जन्म भयो | जसमा तपाइको धेरै मेहनत थियो | तर मधेश एकता बिना दिल्लीले नेपाली राजनीतिलाई हेर्ने कोणमा परिवर्तन ल्याउन सकिने छैन |

मधेश आन्दोलन पछि त कुरा छर्लंग भएको छ | देशमा दुर्इ शक्ति मात्र अस्तित्वमा देखिए एउटा स्थाई सत्ता अर्को मधेशी मोर्चा | मधेसी मोर्चा अडिग र एकताबद्ध भएको भए यो बेलासम्म देशमा परिवर्तन भै सक्ने थियो | उ बेलामा गिरिजा बाबु भन्ने गर्नुहुन्थ्यो | माले, मसाले ,माओवादी, मण्डले एउटै हुन् | अहिले हामीले बुझ्ने बेला भएको छ, त्यो के भने दिल्लीको १२ बुंदे सम्झौतापछि कांग्रेस, एमाले,  माओवादी एउटै शक्ति भएका छन् | स्थाई सत्ताका पक्षपाती नेपाली संचार माध्यमले यो कुरालाई सधै लुकाई रहेका छन् | तर सत्य कुरा के हो भने स्थाई सत्तामा परिवर्तन नल्याएसम्म नेपालमा जस्तो संविधान बनाएपनि जुनसुकै राजनीतिक ब्यवस्था ल्याएपनि जस्तासुकै आन्दोलन गरेपनि केहि उपलब्धि आउने छैन | नेपाल १ इन्च पनि अगाडी बढ्न सक्ने  छैन |  परिवर्तनको लागि मधेसी एकताको आवस्यकता छ | मधेसमा बस्ने सबै जात जाति भाषा भाषी वीच   एकताको भूमिका तपाईले खेल्नु पर्छ | हिजो भएको संबिधानसभाको निर्वाचनमा धेरै पहाडी मूलका मानिसहरुले पनि परिवर्तनको चाहनाका साथ मधेसी पार्टीहरुलाई भोट खसाएका थिए | यो कुरा मधेसी नेताहरुले बुझ्न आवश्यक छ |

स्थाई सत्ताको जन्म

वास्तवमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण प्रारम्भ गर्दा नेपालका कुनै जात जाति बिरुद्ध षड्यन्त्र गर्ने र तिनीहरुलाई दमन गर्ने नीति लिएका थिएनन् | उनका छोरा प्रतापसिंह शाहले मैजुरानी नामक नेवारकी छोरीसंग बिवाह गर्नु र उनीपटिबाट जन्मेका बिदुर शाह, शेरबहादुर शाह दरबारका हर्ताकर्ता हुनु , पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहले मधेसी बाहुनकी छोरी कान्तिवतीसंग बिवाहगरि उनीबाट जन्मेका छोरा गिर्वाणयुद्द विक्रम शाहलाई आफू जीवित छदै राजा घोषणा गर्नु | प्रतापसिंह शाह र रणबहादुर शाहका शासनकालमा प्रतिमान राना मगर,  सर्वजित रानामगर,  मधेशीहरु गर्मु खवास, इन्द्रसिंह खवास , भिम खवास, त्रिभुवन खवास र  नरसिंग गुरुङ जस्ता गैरगोर्खाली र गैरक्षेत्री समुदायका मानिसहरु नेपाली सेनाका सर्वेसर्वा हुनुले नेपाल एकीकरणमा जातीय दमनको नीति थिएन भन्ने प्रस्ट बुझ्न सकिन्छ |  गोर्खालीहरुले षड्यन्त्र गर्लान र गिर्वाणयुद्द विक्रम शाहलाई राजा हुन नदेलान् भन्ने डरले रणबहादुर शाहले आफु जीवित छदै छोरालाई राजा बनाएका थिए |

     भीमसेन थापाको उदय हुनु अघिसम्म नेपाली सेनामा सबै जातजातिको सर्वेसर्वा हुने उत्तिकै अवसर थियो भन्ने कुरा त्यसबेला माथि उल्लेखित मगर , गुरुङ , नेवार,  मधेसी समुदायका व्यक्तिहरु त्यसबेलाको राज्यसत्ता ( सेना ) मा स्थापित हुनुले प्रस्ट पार्छ |

पृथ्वीनारायण शाहको निधन संगसगै नेपाल दरबारमा गोर्खाली र अगोर्खाली गुटको निर्माण भएको थियो | प्रातापसिंह शाहकी भित्रेनी श्रीमती मैजुरानीले चौदण्डीका स्वरूपसिंह कार्की र रिसिंगका ब्रजनाथ पौडेल, सर्वजित राना, परशुराम थापा सम्मिलित एउटा अगोर्खाली गुट बनाएकी थिईन् | पछि भीमसेन थापाको उदय हुनु अघिसम्ममा अगोर्खाली गुट शक्तिशाली भैसकेको थियो | अगोर्खाली गुटमा मैजुरानीका दुइ छोराहरु बिदुर शाह र शेरबहादुर शाह ,त्रिभुवन खवास,  भिम खवास,  नरसिंग गुरुङ आदि व्यक्तिहरु शक्तिशाली थिए | छोरालाई राजा घोषितगरी बनारसमा जीवन व्यतित गरिरहेका रणबहादुर शाहलाई गोर्खालीहरुले अनेक षड्यन्त्रगरी जबर्जस्ति काठमान्डू ल्याएको देखिन्छ | रणबहादुर शाह बनारसबाट थानकोट आइपुगेको खबर पाउना साथ श्रीनाथ र कालीबक्स गण लिई चाँदीको हत्कडी सहित दामोदर पाण्डे थानकोट पुग्दा ‘’ मलाई मार्न ल्याइस”  भनि रणबहादुर शाहले भीमसेन थापासंग गुनासो गरेबाट गोर्खालीहरुले उनलाई जबर्जस्ति नेपाल भित्र्याएका थिए भन्ने प्रस्ट हुन्छ | रणबहादुर शाह संगसंगै भीमसेन थापा,  रंगनाथ पौडेल,  काजी दलभंजन पाण्डे, प्राण शाह आदि महत्वपुर्ण गोर्खाली नेताहरुलाई देखे पछि कालीबक्स गण र श्रीनाथ गण उनीहरुसंगै मिल्न पुगे | त्यहांबाट ज्यान जोगाइ भागेका दामोदर पाण्डेलाई गोर्खाली फौजले पिछा गरि भद्रकालीमा मारेको इतिहासमा उल्लेख छ | उनि संगसंगै भद्रकालीमा भिम खवास, उनका तीन भार्इ छोराहरु,  द्वारे समन सिंग, सुवेदार संखाधर,  सुवेदार मानवध,  सरदार इन्द्रमान आदिलाई मारिएको थियो | त्यो भन्दा पहिलेनै रणबहादुर शाहलाई रोक्न भनि सैन्य दल सहित चिसापानी गढी पुगेका नरसिंग गुरुङ्गलाई भीमसेन थापाले आफ्नो हातमा लिइसकेका थिए | सम्भवत नरसिंग गुरुङ्गकै आग्रहमा थानकोटमा पनि कालीबक्स गण र श्रीनाथ गण गोर्खाली गुटमा मिल्न गएको हुनसक्छ | त्यो अनुसन्धान गर्न सकेमा यथार्थ कुरा निस्कन्छ | सन् १८०४ मार्च महिनाको यो घटना पछि भीमसेन थापा सर्वेसर्वा हुन थाले | उनी  बाल्यकाल देखिनै रणबहादुर शाहको सेवामा संगै  भएका हुनाले उनलाई हरेक कुरा मनाउन फकाउन सक्थे |

यसैवीच भीमसेन थापाले त्रिपुरासुन्दरी नामक थापाकी छोरीसंग रणबहादुर शाहको बिवाह गराए | त्यसपछि थापाले सन् १८०६ को १९ अप्रिलमा अर्को खतरनाक षड्यन्त्रको रचना गरे | यो षड्यन्त्रमा उनले रणबहादुर शाह, उनका दाजु भाइहरु र अगोर्खाली गुटका सबैलाई जरै सहित निमिट्यान्न पार्ने योजना बनाए | आफु बलियो हुन गोर्खालीहरुले यो षड्यन्त्र गर्नु अत्यन्त जरुरि ठानेका थिए | रणबहादुर शाहका ससुराली मधेशी भएका हुनाले मनपरेकी श्रीमतीका माइती खलकप्रति उनले सद्भावनाको सम्बन्ध राख्नेनै भए | उता नेपाल एकीकरणमा मगर, गुरुङ्गहरुको भूमिकालाई बेवास्ता गरेर गोर्खाली क्षेत्रीहरुका मात्र कुरा सुन्न रणबहादुर शाह तयार भएनन् | अर्को कुरा गोर्खाले नेपाल जितेको होइन बरु गोर्खालाई नेपालमा मिलाएर आफ्ना हजुरबा काठमान्डू आएका हुन् भन्ने भावना रणबहादुरमा थियो | बुबा प्रतापसिंग शाहले ललितपुरका भूतपूर्व मन्त्रि वीरनरसिंहकी छोरी मैजुरानीसंग बिवाह गरेको, काठमान्डूमा इन्द्रजात्रामा लिङ्गो गाड्ने चलन चलाएको आदि भावनात्मक सम्बन्धका कारणले गोर्खालीका मात्र कुरा सुनेर नेवारहरुलाई बेवास्ता गर्न रणबहादुर  सक्दैनथिए | फेरी मैजुरानी पट्टिका सौतेनी दाजु भाइहरु  बिदुर शाह र शेरबहादुर शाहको नेपाली राजनीतिमा हरेक कुराले महत्वपुर्ण हुने उनि ठान्थे | उता नरसिंग गुरुङ्ग प्रति पनि रणबहादुर शाह नरम हुँदै गएपछि गोर्खालीहरु रणबहादुर शाहसंग ज्यादै रिसाए | त्यसकारण सबैलाई एकै चिहान बनाउने षड्यन्त्र भयो | अन्त भेला बोलाउदा सबै उपस्थित होलान नहोलान भन्ठानेर बिपक्षी त्रिभुवन खवासको घरमा कचहरी बोलाइयो |  सो कचहरीमा सवालजवाफ हुँदा भार्इ शेरबहादुरले दाजु रणबहादुर शाहलाई तरबार हानेर मारे अनि शेरबहादुरलाई बालनरसिंग कुँवरले मारे भनि कपोलकल्पित बहाना बनाइयो | त्यो हत्याकाण्डमा त्रिभुवन खवास, बिदुर शाह, पाल्पाका राजा पृथ्वीपाल सेन र नरसिंग गुरुंगको पनि हत्या गरियो | त्यतिमात्र होइन त्यो हत्याकाण्ड लगत्तै बिदुर शाह, शेरबहादुर शाह, त्रिभुवन खवास र नरसिंग गुरुङ्गका सम्पूर्ण केटाकेटीहरु समेतलाई गिरफ्तार गरि भीमसेन थापाले मार्न लगाए | बिदुर शाह, शेरबहादुर शाह र नरसिंग गुरुङ्गका १३ जना र पाल्पाली राजा पृथ्वीपाल सेनका १७ जना २ बर्ष देखि १५ बर्ष सम्मका बच्चाहरुको हत्या भयो | त्यसैगरि अरु सम्भावित सबैको खोजि गरि भीमसेन थापाले मार्न लगाए | सो हत्या काण्डमा ७७ जनाले ज्यान गुमाउनु परेको थियो | त्यतिले मात्र गोर्खाली गुटले चित्त बुझाएन | तिनका बिवाह भै सकेका छोरी, स्वास्नी र कुमारीहरुलाई समेत जाति च्युत गरि देश निकाला गरियो | मारिनेहरुका लाश गिद्द र कुकुरलाई खुवाउने व्यवस्था मिलाइयो |

नेपाली राजनीतिबाट दिक्क भै हेलम्बुमा एकान्त जीवन ब्यतित गरिरहेकी, रणबहादुर शाहकी जेठी रानी राजराजेस्वरी समेतलाई हेलम्बुबाट झिकाई सति पठाइयो | रणबहादुर शाहको मृत्युमा १५ जना सति गएका थिए | यसरी रणबहादुर शाहको हत्यासंगै हत्या भएका र सति जानेहरुको जम्मा संख्या ९३ जना थियो भनि डि. आर. रेग्मीद्वारा लिखित मोडर्न नेपालमा उल्लेख गरिएको छ |

त्यसपछि आफैले बिवाह गराई दिएकी थापाकी छोरी रणबहादुरकी कान्छी श्रीमती  ललितत्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाणयुद्द विक्रमको नायबी भैइन् | भीमसेन थापा राजकाजमा सर्वेसर्वा भए र उनले ३१ बर्ष निर्धक्क राजकाज चलाए |

यसरि अन्य जात जाती र भाषा भाषीले आफ्नो हक अधिकारका लागि चुइक्क बोल्न समेत डराउने गरि निर्मम हत्या काण्ड गरेर भीमसेन थापाले  नेपालको इतिहासमा स्थाई सत्ताको जन्म गराएका थिए | लडार्इमा, युद्दमा गएको जुनसुकै व्यक्तिलाइ आफु मरिन्छ कि भन्ने डर हुन्छ | तैपनि एउटा उद्देश्य लक्ष्य प्राप्तिका लागि मरिन्छ भन्ने हुदां हुदै पनि मानिस लडार्इमा जान्छ | आफु मरे त केहि छैन, हारियो मरियो तर जब आफु हारेमा आफ्ना सन्तान र निर्वोध बाल बच्चा समेत मारिन्छन् भन्ने मानिसलाई थाहा हुन्छ तब कोहि पनि लडाइंमा जान तयार हुदैन | बरु परिवार सहित देश समाज छाड्छन् | सम्भवत भीमसेन थापाको ३१ बर्षे शासनकालमा नै नेपालमा सबै भन्दा ठुलो सामाजिक बिचलन भएको हुनु पर्छ | गोपाल बंशी राजाहरुका पालादेखि नै काठमान्डूमा बसोबास गरेका मैथिल समुदायका धेरै मानिसहरु यहीबेला बिस्थापीत भएका थिए | यसरी स्थाई सत्ता (गोर्खाली राष्ट्रवाद ) को जन्म हुन गयो |

स्थाई सत्ताको उमेर

वि.स. १८३७ मा भीमसेन थापाको पतन पछि १८४६ सम्म ९ बर्षमा नेपाली राजनीतिले अर्को बाटो पहिल्याउन नसके पछि जंगबहादुरले फेरी कोतपर्व हत्याकाण्ड मच्चाएर स्थाई सत्तालाई निरन्तरता दिए | गोर्खाको बोर्लांगमा बाल्य जीवन बिताएका जंगबहादुर पक्का गोर्खाली भावनाका थिए | आफ्ना बुबा बालननरसिंह कुँवरले  १८०६ अप्रिलमा गरेको हत्याकाण्डबाट निर्माण भएको स्थाई सत्तालार्इ उनी निरन्तरता दिन चाहन्थे | आफ्ना हजुरबा रामकृष्ण कुँवरको सैनिक नेतृत्वमा  मकावानपुर र पूर्वको किरांत प्रदेश एकीकरण भएको र बुबा बालनरसिंग कुँवरले स्थाईसत्ता कायम गरेको हुनाले पनि उनि आफुलाई नेपालको पक्का उत्तराधिकारी ठान्थे होलान् भन्ने विश्लेषण गर्न सकिन्छ | आफ्ना भार्इहरु सबैलाई एकमत बनाइ उनले ज्यानको बाजी लगाई कोतपर्व गराएका थिए | यसरि सन् १८४६ देखि राणाहरुले स्थाई सत्तालाई सन् १९५१ सम्म १०४ बर्ष  निरन्तरता दिए |

सन् १९५१ देखि प्रजातान्त्रिक अभ्यास हुँदा हुदै फेरी महेन्द्रले १९६० मा पंचायत व्यवस्था लगाइदिए | त्यसले ३० बर्ष स्थाई सत्ताले निरन्तरता पायो | सन् १९९० देखि फेरी प्रजातान्त्रिक अभ्यास सुरु भएको थियो | त्यस बिरुद्द गोर्खालीहरु (स्थाई सत्ताका समर्थक) ले अनेक षड्यन्त्र गरे | एकथरि गोर्खाली (माओवादी)हरु  हतियार लिएर भूमिगत हिंसामा उत्रिए | अर्काथरी गोर्खाली ( एमाले ) हरु संसदमै गएर पनि संविधानलाई आलोचनात्मक समर्थन मात्र भने र  बहुमतको सरकारलाई जबर्जस्ति राजिनामा गराउन बर्षौं संसद अवरुद्द बनाइरहे | गिरिजाप्रसादले प्रधानमन्त्री पदबाट राजिनामा गर्नैपर्छ भनेर एक वर्ष भन्दा बढी संसद चल्न नदिने एमालेहरुले त्यतिले पनि नपुगेर २०५८ साल जेठ १४,१५ र १६  तीनदिन नेपाल बन्द गराए | देश ठप्प भएको थियो | के हुनेहोला अब देशमा भनि अन्योल भैरहेकै बेला १७ र १८ गते दुर्इ दिनको पर्खाइ पछि एकाएक यसै वीच दरबार हत्या काण्ड भयो | त्यो हत्याकाण्डमा अगोर्खाली पक्षधर र स्वभावका राजा बिरेन्द्रको परिवार सबै मारिए अब यो हत्याकाण्ड कसले गराएको हो भन्ने भन्दा पनि मुख्य कुरा कस्तो राजनीतिक परिस्थितिमा हत्या काण्ड भएको थियो भन्ने कुराले महत्व राख्दछ |

यो हत्याकाण्ड पछि देशको राजनीतिक परिस्थिति पुरै फेरियो | एमालेहरुले पनि कांग्रेसको बहुमतको सरकार बिरुद्धका सबै आन्दोलन स्थगित गरे | यसरि उनीहरुले आन्दोलन स्थगित गर्नुमा दरबारी षड्यन्त्रका बिरुद्ध प्रजातान्त्रिक एकतालार्इ बलियो बनाउनु थिएन | बरु उनीहरुले अब गिरिजाप्रसाद कोइरालाका दिन गए भनेर ढुक्क भएर आन्दोलन स्थगित गरेका थिए भन्ने कुरा एमालेका त्यसबेलाका गतिविधिबाट स्पष्ट हुन्छ |

नभन्दै होलेरी काण्डपछि गिरिजाप्रसाद कोइरालाले राजिनामा दिए | गोर्खाली गुट बलिया भए | एमालेहरु प्रतिगमन आधा सच्चिएको नाममा ज्ञानेद्रको सरकारमा सम्मिलित हुने, कांग्रेस भित्रका गोर्खाली गुटहरुको नेतृत्व गर्दै शेरबहादुर पार्टी फुटाएर ज्ञानेन्द्रलाई सहयोग गर्न जाने, भएको संसद बिघटन गराउने, माओवादीहरु पनि मालिकसंगै वार्ता गर्ने भनि ज्ञानेन्द्रसंग वार्ता गर्न जाने लगायतका घटनाक्रम हुदै संबिधानसभाको चुनाव हुँदै देश अहिले यहाँ आइपुगेको छ |

अहिले कसले गोर्खाली राष्ट्रवाद स्थाई सत्तालार्इ निरन्तरता दिने भन्ने विवाद मात्र कायम छ | राजा बिरेन्द्रको हत्यापछि देशमा कुनै चुनावनै भएको छैन भने पनि हुन्छ | प्रजातन्त्रनै समाप्त भयो | संबिधानसभाको चुनाव त गोर्खालीहरु वीच कसले स्थाई सत्ताको नेतृत्व गर्ने भन्ने टुंगो गर्नका लागि गरिएको चुनाव मात्र थियो भन्ने अहिले छर्लंग भएको छ | दाहाल, नेपाल, खनाल, भट्टराई जस्ता बलिया, बलिया गोर्खालीहरुलार्इ यसै संविधानसभाले प्रधानमत्री बनाइ सक्यो | भएको संसदलाई दरबारमा बुझार्इ यो परिस्थिती ल्याउने सबभन्दा ठुलो गोर्खाली त म हुं | खोइ त मलाइ प्रधानमन्त्री पद ? भन्दै संबिधानसभा पुनर्स्थापित गर्न शेरबहादुर देउवा तातेर हिडेका छन् | त्यो कुनै संबिधान बनाउने वा संघियता दिने भन्नकालागि गरिएको चुनाव थिएन भन्ने कुरा अहिले जग जाहेर छ | देशमा अहिले विभिन्न जात, जाति भाषा भाषी, मधेश, पहाड र  उपत्यका पनि छ भन्ने कुरा समेत गोर्खालीहरुले पूर्णरुपमा भुलेका छन् | ज्ञानेन्द्रलाई जस्तै राष्ट्रपतिलाई पनि बेवकुफ बनाएर सत्ता हात पार्न पाए हुने थियो भनि कांग्रेस एमाले, माओवादीहरु कुस्ती खेलेर बसेका छन् |  यसरि इस्वि संवत १८०६, १९ अप्रिलको हत्याकाण्डबाट स्थापित भएको स्थाई सत्ताको उमेर अहिले २०६ बर्ष भएको छ | आधुनिक विश्वको इतिहास पनि यतिमात्र हो | विश्वले उन्नति गरेको यहि अवधिमा हो |

गोर्खालीहरुका उदगार

“ हामी वजिरमध्ये ठुला बुद्दिमान वजिर भीमसेन थापा हुन् | _ जंगबहादुर

“ एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिडीसक्थ्यो | _ चन्द्र समशेर

“ म भीमसेन थापा जस्तै मर्न तयार छु | _ बाबुराम भट्टराई

“ यो देशले जंगबहादुर जस्तै मान्छे खोजेको छ | _ मधेश आन्दोलनका बेला प्रचण्ड

यी नेताहरुले भने जस्तै भीमसेन थापा के सांच्चिकै ठुला मान्छे थिए त ? त्यस्ता ठुला मान्छे थिए भने रणबहादुरको हत्या गरेको नाममा शेरबहादुर शाहलाई मारे रे तर  त्यसका भोलि पल्ट रणबहादुरका दाजु बिदुर शाह, नरसिंग गुरुङ, त्रिभुवन खवास तथा पाल्पाली राजालाई किन मारे भन्ने कुराको न्यायिक तर्क गर्नेकी नगर्ने ? तिनका साना साना बाल बच्चालाई समेत किन मारे ? नेपाल राष्ट्रलाई उनले खतरा ठानेका भए विचरा ती बच्चाहरुलाई तिनका आमा दिदीहरुसंगै देश निकाला गरेको भए हुदैनथ्यो ? तिनलाई किन निर्मम तरिकाले मार्न लगाए ? इतिहासकारहरुले पाल्पाली राजाको हत्यागरि पाल्पालाई नेपालमा मिलाएको जस भीमसेन थापालाई दिन चाहेका छन् | तर वाताविकता त्यो थिएन | बास्तवमा पाल्पाली राजा त सल्यानी राजा, बझांगे राजा भने जस्तै रजौटा मात्र भैसकेका  थिए | भन्ने तर्क म पछि पेश गर्नेछु | भीमसेन थापाले स्थाई सत्ताका आफ्ना सहयोगीहरुलाई कसरि उपत्यका बाहिर धपाए ? उनको कस्तो नीतिको कारण बहादुर शाहका पालामा एकीकृत भएको बिशाल नेपालको एकतिहाई भू-भाग    गुम्यो ? नेपालको तराइ मधेशप्रति उनले कस्तो नीति अपनाएका थिए ? यो म पछि लेख्ने छु | नेपालको इतिहास पुन अनुसन्धान र पुनर्लेखन हुनु जरुरी छ |

गोर्खालीहरु उ बेलामा र अहिले

उ बेलामा स्थाई सत्ता हात पार्न गोर्खाका क्षेत्रीहरु कुंवर, बस्नेत, पाण्डे र थापाहरुको शक्ति संघर्ष थियो | थापाले बाजी जिते | अहिले देउवा, नेपाल, खनाल, दाहाल, पौडेल र कोइरालाहरु गोर्खाका भट्टराई भन्दा आफुनै उपयुक्त भएको जिकिर गरिरहेका छन् | उ बेलामा गोर्खाली क्षेत्री थापाद्वारा स्थापित स्थाई सत्ता अहिले गोर्खाली बाहुन भट्टराईका हातमा परेको छ | उ बेलामा गोर्खालीहरुले राजकाज त्यागि बनारस बसेका रणबहादुर शाहलाई काठमान्डू ल्याई हत्या गरेका थिए | अहिलेको दरबार हत्याकाण्डमा तत्कालिन श्री ५ लगायत बेलायत बसेका धिरेन्द्र शाहलाई समेत यहाँ बोलाइ मारियो | उ बेलामा रणबहादुर शाहको हत्या उनैका भार्इ शेरबहादुर शाहले गरेका हुन् भनियो | अहिले राजा बिरेन्द्रको हत्याको दोष उनका छोरा दीपेन्द्रलाई लगाइयो | उ बेलामा आफ्नो स्थाई सत्ता कायम गर्न भीमसेन थापाले पाहाडी क्षेत्री र जनजातिहरुलाई अंग्रेजसंग जबरजस्ती लडाई ठुलो संख्यामा तिनको नास गरे र देशको ठुलो भूभाग गुमाए | अहिले दाहाल, भट्टराई र बैद्यहरु कुनै संकोच नमानी यो बीसौं हजार नेपालीको बलिदान र १० बर्षे जनयुद्दको उपलब्धि हो र यसको रक्षा गर्ने भनि तातेर बोलिरहेका छन् |

निष्कर्ष अप्रिल १९ र जेठ १९ को रहस्य

उ बेलाको हत्याकाण्डमा मारिएका राजा रणबहादुर शाह हँसिला, चिटिक्क परेका  राम्रा, मोठो स्वरका धनि, सितार राम्रो बजाउने, गाउन जान्ने कुरा केहि इतिहासकारहरुले बताएका छन् | उनि अगोर्खाली र गोर्खाली भनि भेदभाव गर्दैनथे | देशका सबै जातजाति भाषा भाषी मिलेमात्र देश बलियो हुन्छ भन्ने उनको नीति थियो | आफु बनारस जानुअघि आफ्ना दाजु नेवारका भानिज बिदुर शाहलाई चौतारा पदमा नियुक्त गर्नु, प्रतिमान रानामगरलाई मूलकाजी र गोर्खालीहरु रणकेशर पाण्डे र जहारसिङ्ग बस्नेतलाई काजी पदमा नियुक्त गर्नुले यो कुरा प्रष्टि हुन्छ | उनि कुनैपनि विवाद सबैसंग छलफल गरेर मात्र टुंग्याउन चाहन्थे | गोर्खालीहरुले षड्यन्त्रगरि हत्या गर्न विष्णुमती किनारमा पुर्याएका त्रिभुवन खवासलाई समेत उनले फिर्ता गर्न लगाई खवासकै घरमा भारदारी कचहरी डाकिएको थियो | तर भारदारी सभाको छलफल आगाडी बढ्न नपाउदै हत्याकाण्ड भयो | अहिलेको हत्याकाण्डमा मारिएका राजा बिरेन्द्र पनि हँसिला राम्रा असल स्वभावका थिए | उनि पनि जुनसुकै समस्याको समाधान पनि संसदले गर्छ भन्नेमा बिश्वास गर्दथे | तर संसद एमालेहरुले बर्षदिन देखि चल्नदिएका थिएनन् | एमालेले जेठ १४, १५, १६ नेपाल बन्द गरेर ठप्प पारेका थिए | संसदमा हस्तछेप गर्न बीरेन्द्रलाई ठुलो दबाब दिइएको थियो | गिरिजाप्रसादले राजिनामा दिएनन् | १७ र १८ गते २ दिन बाटो हेरियो | जेठ १९ मा दरबार हात्याकाण्ड भयो | के त्यो बेलामा त्रिभुवन खवासलाई विष्णुमति खोलाबाट नफर्काइ कन हत्यागर्न दिएका भए १९ अप्रिलमा रणबहादुर शाहको हत्या हुनेथियो कि थिएन होला ? के अहिले एमालेको ३ दिन बन्दपछि जेठ १७ र १८ गते भित्रमा बिरेन्द्रले हस्तक्षेपगरि गिरिजाप्रसाद कोइरालालाई हटाएका भए १९ जेठमा गते त्यो हत्याकाण्ड हुने थिएन होला त ? के यी दुर्इ परिस्थितिहरु उस्ता उस्तै छैनन् र ?

*** 

Leave a comment